महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्युआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन्।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ।
यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुनेछ।
सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई ५०० रूपैयाँसम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरूलाई अझ फाइदाजनक हुनेछ।
डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरूमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैंकमा पहिलो विकास बैंक बनेको छ।
यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ।
ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले आगामी दिनहरूमा मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत तथा परिमार्जित गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ।