सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ को बार्षिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन्।
अधिकांशले सन्तोषजनक नै वित्तीय विवरण प्रकाशित गरेका छन्।
विशेष गरेर खराब कर्जाले थलिएका बैंकहरूको विवरणमा सुधार देखिँदै गइरहेको छ। तरपनि सेयर बजार परिसूचकमा भने सुधार हुन सकेको छैन।
सोमबार सेयर बजार परिसूचक नेप्से २७.९० अंकले घटेर २८२२ विन्दुमा आएपछि बजार बन्द भएको छ।
कारोबार रकममा भने सुधार देखिएको छ। गत साता बिहीबार आठ अर्ब ५३ करोडको सेयर किनबेच भएकोमा सोमबार १० अर्ब रूपैयाँको कारोबार भएको हो।
३० प्रतिशत हाराहारी र सोभन्दा माथि लाभांश क्षमता देखिएका सिवाइसी, स्वाभिमान र ग्लोबल आइएमइ लघुवित्त कम्पनीहरूको सेयर मूल्य समेत घटेको छ।
समग्रमा लघुवित्त समूह नै दुई प्रतिशतले घट्न पुगेको छ।
लाभांश क्षमता राम्रो देखिएको कृषि विकास बैंक, एभरेष्ट बैंकको मूल्यमा भने सुधार देखिएको छ। तर, अघिल्लो पटकभन्दा सुधार देखिएको वित्तीय विवरण सार्वजनिक भइरहेपनि अन्य वाणिज्य बैंकहरूमा लगानीकर्ता आकर्षित देखिएनन्।
यो समूहमा भने ०.३३ प्रतिशतले घटेको छ।
लगानीकर्ताहरूले १० प्रतिशतभन्दा माथि लाभांश क्षमता भएका कम्पनीहरूलाई रूचाइरहेको ब्रोकरहरू बताउँछन्।
लघुवित्तको लाभांश सीमा हटाउने विषयमा राष्ट्र बैंकबाट पछिल्लो पटक कुनै जानकारी नआएकोले पनि यी कम्पनीमा भने लगानीकर्ता अलमलमा रहेको एक ब्रोकरले बताए।
राष्ट्र बैंकले पुसमासन्तसम्ममा लघुवित्तलाई लाभांशमा लगाएको कडाई हटाउने मौद्रिक नीतिमा उल्लेख गरेको छ।
बजार बढ्दै गर्दा नियमित कारोबार गर्ने बाहेकमा सर्वसाधारण पनि भित्रने गरेकोमा यस पटक त्यस्तो नदेखिएकोले पनि बजारले सुधारको गति लिन नसकिरहेको ती ब्रोकर बताउँछन्।
सोमबार भने बजारमा तीन सय २४ वटा धितोपत्र तथा ऋणपत्रको कारोबार हुँदा ५३ वटाको मूल्य बढेको छ। दुई सय ६० वटाको मूल्य घटेको छ।
रिभरफल्सको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर चार सय ६ रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ७.६४ प्रतिशतले घटेर दुई हजार दुई सय ४७ रूपैयाँमा कारोबार भएको छ।
शिवम सिमेन्ट्सको सबैभन्दा धेरै ५३ करोड रूपैयाँको सेयर किनबेच भएको छ।
कारोबारमा आएका मध्ये सामूहिक लगानी कोष र ‘अन्य’ समूहमा मात्रै सुधार देखिएको छ।