सोमबार सेयर बजार परिसूचक नेप्से ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा आइपुगेको छ।
नजिकको उचाइबाट १० प्रतिशत घटेपछि नेप्से बढ्ने प्रयासमा देखिएको हो। तीन हजार २८ विन्दुसम्म पुगेर लगातार घटेको बजार २७ सय ५५ विन्दु पुगेर बढ्ने प्रयासमा देखिएको छ।
बजार बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।
सोमबार ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको हो। आइतबार सात अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र ‘अन्य’ समूह मात्र घटेका छन्। सोमबार व्यापारमूलक समूह सबैभन्दा धेरैले बढेको छ। यो समूह १.२९ प्रतिशत बढेको हो।
कारोबारमा आएका तीन सय २० कम्पनीमध्ये एक सय ९६ वटाको मूल्य बढेको छ। एक सय १३ वटाको सेयर मूल्य घटेको छ।
युनियन हाइड्रो पावरको मूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले बढेर चार सय ८ रूपैयाँ पुगेको छ।
सम्पदा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८१ प्रतिशतले घटेर ९ सय ४२ रूपैयाँमा कारोबार भएको छ। यो कम्पनीको सेयर लगातार उच्च मूल्यले घटिरहेको छ।
यसदिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ। कम्पनीको २१ करोड ७५ लाख रूपैयाँको कारोबार भएको हो।