नेप्सेको अन्तिम १५ मिनेटमा कायम मूल्यको आधारमा औसत निकाल्ने अभ्यास आवश्यक रहेनरहेको विषयमा धितोपत्र बोर्डले अध्ययन गर्ने भएको छ।
गत चैत ७ गतेबाट अभ्यासमा आएको यो विधिप्रति धेरै लगानीकर्ताले विमति जनाउन थालेसँगै यसमा धितोपत्र बोर्डले पनि अध्ययन थालेको हो।
अध्ययनको लागि धितोपत्र बोर्डका उप-कार्यकारी निर्देशक दिपेश ताम्राकारको नेतृत्वमा चार सदस्य समिति बनाइएको बोर्ड सहप्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए।
हाल नेप्सेले नियमित कारोबार सत्रमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हरेक कारोबारको मूल्यलाई सूचीकृत सेयर संख्याले गुणान गरी मुल्य निकाल्छ। यसै अनुसार नेप्से परिसूचक गणना भइरहेको हुन्छ।
तर अपरान्ह तीन बजेपछि भने सूचकांक गणनामा फरक तरिका प्रयोग हुन्छ। सो समयमा नेप्से स्वचालित प्रणालीले कारोबार भएका सेयर संख्याका आधारमा भारित औसत मूल्य निकाल्छ।
स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य निकाल्छ। यो नै अन्तिम मूल्य हुन्छ।
स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणाना गर्ने गर्छ ।
सेयर बजारमा अन्तिम समयमा कम्पनीको मूल्य बढाएर चलखेल गर्ने प्रवृत्तिलाई रोक्नु पर्ने माग लगानीकर्ताहरूबाटै उठेपछि चैतबाट भारित औसत निकाल्न थालिएको थियो।
तर, अहिले भने यही विधिको कारण बजार बढ्न नसकिरहेको भन्दै लगानीकर्ताहरूले हटाउनुपर्ने बताउन थालेका छन्।
यसअघि एक पटक नेप्सेले औसत निकाल्दा त्रुटि समेत गरेपछि लगानीकर्ताहरूले त्यसयता विरोधको स्वर उँचो बनाएका छन्।
याे पनि:
बिहीबारदेखि अन्तिम १५ मिनेटको सेयर कारोबारको आधारमा अन्तिम मूल्य तोकिने