अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर लगानीकर्ताहरूले सेयर बजार सुधार्न आवश्यक सात बुँदे सुझाव दिएका छन्। लगानीकर्ताहरूले पुँजीगत लाभकर घटाउन र यो करलाई नै अन्तिम कर मानेर स्पष्ट व्यवस्था गर्न सुझाव दिएका हुन्।
छोटो अवधिको लाभका ५ प्रतिशत र लामो अवधिसम्म राखिएको सेयरमा तीन प्रतिशत करको व्यवस्था गर्न उनीहरूले सुझाएका हुन्।
हाल एक वर्षभन्दा कम अवधिमा गरिएको सेयर बिक्रीमा हुने लाभमा ७.५ प्रतिशत र सो समयभन्दा पछि सेयर बिक्री गर्दा हुने लाभमा ५ प्रतिशत लाभकर लाग्दै आएको छ।
उनीहरूले व्यक्तिगत सेयर धितो कर्जामा राखिएको २५ करोडको सीमा हटाउनुपर्ने सुझाव दिएका हुन्।
त्यस्तै, लघुवित्तहरूमा रहेको २५ प्रतिशतसम्मको लाभांश सीमा हटाउनुपर्ने र यस्ता संस्थालाई कार्यसञ्चालनमा पूर्ण स्वतन्त्रता दिँदै प्रतिस्पर्धात्मक बनाउनुपर्ने सुझाव पनि दिएका छन्।
गैर आवासीय नेपालीलाई बजारमा प्रवेश गराउने वातावरण बनाउनुपर्ने र धितोपत्र बोर्डलाई स्वायत्त नियामकको रूपमा विकास गराउनुपर्ने उल्लेख गरेका छन्।
लगानीकर्ताका विभिन्न संघहरूले अर्थमन्त्रीलाई भेटेर संयुक्त सुझाव दिएका हुन्।