बुधबार पनि उच्च दरमा नेप्से घट्ने क्रम रोकिएको छैन। दुई दिनमा नेप्सेले एक सय तीन अंक गुमाएको हो।
मंगलबार ५८.५५ अंकले घटेको नेप्से बुधबार ४५.३६ विन्दुमा आएको छ। बजार बन्द हुँदा २५५९ विन्दुमा नेप्से आइपुगेको हो।
भदौ २४ गतेको आन्दोलनको क्रममा भएको तोडफोडसँगै बीमा कम्पनीहरूमा परेको दाबी, हालैको बाढी पहिरोबाट जलविद्युत कम्पनीहरूमा भएको क्षतिले बजारलाई प्रभाव पारेको हो।
यी घटनाले गर्दा सिजनमै पर्यटन आगमन घटेको छ। बजारमा रहेका बीमा, जलविद्युत् होटेल लगायतका यी क्षेत्र प्रभावित हुँदा सेयर बजार घट्ने क्रमले निरन्तरता पाइरहेको हो।
यसदिन सबै समूहगत परिसूचक घटेका छन्। होटल र वित्त कम्पनी समूहमा सबैभन्दा धेरैले गिरावट आएको छ।
त्यस्तै, तीन सय ३५ लगानी उपकरण कारोबारमा आएकोमा दुई सय ७८ वटाको मूल्य घटेको छ, ४३ वटाको मूल्य बढेको छ। बाँकीको स्थिर छ।
बुधबार पाँच अर्ब ७६ करोड रूपैयाँको सेयर कारोबार भएको छ। मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ। मंगलबार चार अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको थियो।