सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा आइपुगेको हो।
यसदिन कारोबार रकम पनि घटेको छ। आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको छ।
कारोबारमा आएकामध्ये जीवन बीमा र जलविद्युत् समूह सबैभन्दा धेरैले घटेका छन्। यी समूहमा एक प्रतिशतभन्दा धेरैले ह्रास आएको छ।
यसदिन विकास बैंक, होटल, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापारमूलक समूहगत परिसूचकमा झिनो सुधार आएको छ।
यसदिन तीन सय ३३ लगानी उपकरण कारोबारमा आउँदा एक सय २१ वटाको मूल्य बढेको छ। एक सय ९० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
यसदिन दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरैले बढेको हो। यी कम्पनीको सेयर क्रमशः एक हजार ६ सय १६ रूपैयाँ र ६ सय ६७ रूपैयाँमा कारोबार भएको छ।
इष्टर्न हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको प्रतिकित्ता चार सय १५ रूपैयाँमा सोमबार अन्तिम कारोबार भएको छ।
यसदिन शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको ३७ करोड ६८ लाख रूपैयाँको सेयर किनबेच भएको हो।