काठमाडौंकी पल्पसा श्रेष्ठका लागि नबिल एसएसई फेलोसिप केवल तालिम नभएर जीवनको मोड सावित भयो।
२० वर्षभन्दा बढी समय विभिन्न गैरसरकारी संस्थामा काम गरेकी पल्पसा पछिल्लो समय हस्तकला र सिप विकासका तालिममा सक्रिय भइन्।
कोभिड– १९ पछि उनले ढाका कपडाबाट गिफ्ट आइटम पनि बनाउन थालिन्। पहिले केवल टोपीमा सीमित ढाकाका कपडाबाट उनले ब्याग, कोट र सजावटका वस्तु समेत बनाउन थालिन।
फेलोसिपमा सहभागी भएपछि उनले व्यवसायका सबै पक्ष मार्केटिङ, फाइनान्स, व्यवस्थापनदेखि सञ्चार रणनीतिसम्म व्यवस्थित रूपमा सिकिन्।
‘फेलोसिपले मलाई व्यवसायिक दृष्टिकोण सिकायो, आत्मविश्वास दियो,’ पल्पसा भन्छिन्, ‘अहिले म आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारी गर्दैछु।’
उनले हाल मलेसिया र दुबईमा आफ्ना उत्पादन प्रदर्शन गरिसकेकी छन्।
पल्पसाको सफलताले देखाउँछ, सफलता उमेर वा पृष्ठभूमीमा होइन, दृढता र अवसरमा निर्भर हुन्छ।
रबिलालको बिर्यानी यात्रा
नबिल एसएसईबाट फेलोसिप लिएका रबिलाल पाण्डे पाल्पाका उद्यमी हुन्। उनी ‘हाडी बिस्ट्रो एण्ड क्याफे’ का संस्थापक हुन्।
सन् २०१८ मा करिब नौ लाखको लगानीमा उनले सानो आउटलेट सुरु गरेका थिए। व्यावसाय बिस्तार हुँदै गएपछि अहिले बौद्ध, राधेराधे र गोङ्गबुमा ‘हाडी बिस्ट्रो एण्ड क्याफे’ का शाखा विस्तार भएका छन्।
पाण्डेको व्यवसायले उनको र ६० जना कर्मचारीको जीवन बदलेको छ।
उनको जीवनमा निर्णायक मोड बन्यो, नबिल एसएसई फेलोसिप।
पहिलो प्रयासमा छनोटमा पर्न नसके पनि दोस्रो पटकको आवेदनपछि उनी फेलोसिपमा छनोट हुन सके। त्यहाँ उनले पाएको मेन्टरसिप र प्रशिक्षणले उनलाई व्यवसायिक चुनौतीहरू सामना गर्न मद्दत गर्यो।
पाण्डे सम्झिन्छन्, ‘पहिले म केवल दैनिक कार्य सञ्चालनमा केन्द्रित थिएँ, तर नबिल एसएसईमा भाग लिएसँगै ममा उद्यमी बन्ने सोच विकास भयो।’
रबिलालको लक्ष्य अब ‘हाडी बिस्ट्रो’ लाई देशका प्रमुख शहरहरूमा विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने छ।
‘हामीले सुरु गरेको स्वादलाई विश्वमा पुर्याउने सपना छ,’ उनले आफ्नो लक्ष्य सुनाए।
साझा उद्देश्य, साझा प्रेरणा
पल्पसा र रबिलालका कथाको पृष्ठभूमी फरक भएपनि उनीहरूमा आत्मविश्वास भर्ने, उद्देश्य प्ररित बनाउने साझा सूत्रधार हो—नबिल एसएसई।
नबिल बैंकका अनुसार, एसएसई कार्यक्रम सञ्चालनपछि १७ हजारभन्दा बढी रोजगारी सृजनामा सहयोग पुगेको छ। दिगो र उत्तरदायी उद्यमशीलताको विकासमा नबिल बैंकले यसलाई आफ्नो दीर्घकालीन प्रतिबद्धताका रूपमा अघि सारेको छ।
के हो नबिल एसएसई?
नबिल बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्स सञ्चालन गरिरहेको छ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँगको सहकार्यमा सञ्चालन भइरहेको यो फेलोसिप कार्यक्रम सामाजिक प्रभाव पार्ने स्टार्टअप र नविनतम विचारमा काम गरिरहेका उद्यमीहरूका लागि लक्षित गर्दै तयार गरिएको हो।
१८ वर्ष उमेर पूरा गरेका र उद्यमशीलतामार्फत् समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका इच्छुकहरूले यो कार्यक्रममा सहभागीता जनाउन सक्छन्।
छ महिनाको अवधिमा सहभागीहरूले विश्वस्तरीय प्रशिक्षण, मेन्टरसिप, नेटवर्क विस्तार, र वित्तीय पहुँच जस्ता सुविधा प्राप्त गर्छन्।
यसअन्तर्गत हालसम्म ७६ जना सहभागी भइसकेका छन्। उनीहरू मध्ये ६२ जना उद्यममा सक्रिय रूपमा लागिरहेका छन्।
हालसम्म पाँच समूहलाई यस्तो फेलोसिप प्रदान गरिसकिएको छ। अहिले छैठौँ समूहका लागि आवेदन खुला गरिएको छ। नयाँ समूहका लागि आह्वान गरेको आवेदनको म्याद अब एक साता मात्रै बाँकी रहेको जनाएको छ।
यसमा सहभागिता जनाउन चाहनेले आगामी कात्तिक २८ गते राति ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सक्नेछन्।
नबिल एसएसईका दुवै कार्यक्रमका लागि इच्छुकले नबिल बैंकको आधिकारिक वेबसाइट वा नबिल एसएसईका सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत आवेदन दिन सक्नेछन् ।