सोमबार पनि नेप्से परिसूचक घटेको छ। मधेश प्रदेशमा विकसित भएको राजनीतिक घटनाक्रमले सेयर बजारलाई पनि प्रभाव पारेको हो।
पुर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल एमालेको पहलमा मधेश प्रदेशमा मुख्य मन्त्री नियुक्ति भएसँगै केन्द्रसम्म राजनीतिक प्रभाव परेको छ। यसले राजनीतिक अन्योलता थप चर्काउने भएपछि बजारमा प्रभाव परेको हो।
सोमबार नेप्से ४.१५ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५६१ मा आएको छ। कारोबार अवधिमा नेप्से परिसूचक दुई पटक २५४४ विन्दुसम्म पुगेर फर्किएको हो।
बजार बन्द हुनुअघि अन्तिम आधा घण्टामा नेप्सेले १७ अंक जोड्न सफल भएपनि अघिल्लो दिनको बन्द विन्दु पार गर्न सकेन।
यसदिन कारोबार रकम थप घटेको छ। बजारमा कारोबारमा रहेकामध्ये होटल, व्यापारमूलक र लगानी समूहमा सुधार देखिएको छ।
सोमबार चार अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ। आइतबार चार अर्ब ९० करोड रूपैयाँको कारोबार भएको थियो।
यसदिन तीन सय २३ लगानी उपकरण कारोबारमा आउँदा एक सय २३ वटाको मूल्य बढेको छ। एक सय ७९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका माबिलुङ्ग इनर्जी, दरमखोला जलविद्युत, सागर डिष्टिलरी र बुंगल हाइडोको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता एक हजार नौ सय ५३ रूपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन एनआरएन इन्फ्रास्ट्रकचरको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको ४८ करोड ८८ लाख रूपैयाँको सेयर किनबेच भएको हो।