एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गर्ने भएको छ।
पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि एक्वायर (प्राप्ति) गरी उक्त बैंकका अनलाइन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टर कार्ड मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।
बैंकले नेपालमा इकमर्स ट्रान्जेक्सनलाई प्रवर्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो।
यस पेमेन्ट गेटवेले ३–डी सुरक्षित प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ।
अनलाइन वा इकमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन्।
एनएमबी बैंकले एनसिएचएलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि इसिसी, आइपिएस, आरपिएस, नेपाल–पे क्युआर, कनेक्ट आइपिएस, कर्पोरेट–पे लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएकोमा अब इकमर्स पेमेन्ट गेटवेको सेवा पनि थपिएको हो।
एनसिएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ।