मुक्तिनाथ कृषि कम्पनीले हकप्रद साधारण सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रूपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १:०.६ (अर्थात विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयर) को अनुपातमा ४५ करोड ३६ लाख रूपैयाँ बराबरको प्रति सेयर १०० रूपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्नकोे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफलाई नियुक्त गरेको हो।
बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौंस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे।
मुक्तिनाथ कृषि कम्पनीले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो।
कम्पनीले कृषकहरूको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्ताहरूलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेशन र निष्कासन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।