विजय लघुवित्त वित्तीयले पुस २१ गतेदेखि एफपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले संस्थापक सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपिओ निष्कासन गर्न लागेको हो।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपछि ७४ करोड ५० लाख ४० हजार ३५९ रूपैयाँ चुक्ता पुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेकोमा सोही अनुपात मिलाउन लघुवित्तले एफपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता सेयर थप सार्वजनिक निष्कासन गर्न लागेको हो।
उक्त एफपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ ५ गतेसम्म लम्बिनेछ।
सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ बी एटदरेट' प्रदान गरेको छ। यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउॅंछ।
यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।