पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (शुक्रबार) देखि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रूपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।
कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपसारी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दहरूका लागि सो सेयर निष्कासन गरेको हो।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन पउनेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म रहनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी- आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।