नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा पुस एक महिनामा औसत मूल्य वृद्धि २.४२ प्रतिशत छ।
गत पुसमा यस्तो वृद्धिदर ५.४१ प्रतिशत थियो।
चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुससम्म) को औसत मूल्य वृद्धि दर १.७० प्रतिशत छ।
गत आर्थिक वर्ष २०८१-८२ को यो अवधिको औसत मूल्य वृद्धि ४.९७ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
यो ६ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा फलफूलमा सबैभन्दा धेरै ५.२० प्रतिशत, घ्यु तेलमा ४.९६ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, गैर मदिराजन्य पेयपदार्थमा ३.०४ प्रतिशतले बढेको छ।
तर, दाल तथा गेडागुडीको ५.५२ प्रतिशत, मरमसला ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा २१.७५ प्रतिशत, शिक्षा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलमा ५.२९ प्रतिशत, सुर्तिजन्य पदार्थको ४.१५ प्रतिशत र मदिरा तथा पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ।