सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रूपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रूपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ५५ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवािध फागुन १९ गतेसम्म लम्बिनेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।