सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा दुवै कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
सालपा विकासको 'एसएबिबिएल' र रिलायन्सको 'आरएसएमएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
शुक्रबार नेप्सेमा सालपा विकास बैंकको १०० रूपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको छ।
यसमा संस्थापक सेयरधनीहरूको ६७ प्रतिशत (३५ लाख कित्ता) र सर्वसाधारण लगानीकर्ताहरूको ३३ प्रतिशत (१७ लाख २३ हजार ८८० कित्ता) सेयर रहेको छ।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १०० रूपैयाँ अंकित मूल्यको कुल १ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको हो।
यसमध्ये संस्थापक सेयरधनीहरूको ८९.८६ प्रतिशत (१ करोड ७० लाख ७३ हजार ४ सय कित्ता) र सर्वसाधारणको १०.१४ प्रतिशत (१९ लाख २६ हजार ६ सय कित्ता) सेयर रहेको छ।
दुवै कम्पनीले पहिलो कारोबारको लागि एक सय रूपैयाँदेखि तीन सय रूपैयाँको मूल्य रेञ्ज पाएका थिए।
नेप्सेले यसअघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गरेको छ।
यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ।
यस अवधिसम्म सालपा विकास बैंक्को सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३० रूपैयाँ र रिलायन्सको २ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३०६ रूपैयाँ पुगेको छ।