आइसिएफसी फाइनान्सले आज (सोमबार) देखि ऋणपत्र बिक्री खुला गरेको छ।
फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा '८ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९' निष्कासन गरेको हो।
फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।
सोमध्ये ३० करोड रूपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रूपैयाँ बराबरको २ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन २५ गतेसम्म लम्बनेछ।
फाइनान्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
फाइनान्सलाई क्रेडिट रेटिङ 'केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ' प्रदान गरेको छ।
यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउॅंछ।