विश्व बैंकले नेपालमा औद्योगिक प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन सुदृढ गर्न पाँच करोड २० लाख अमेरिकी डलर (करिब सात अर्ब ६४ करोड रूपैयाँ) ऋण सहयोग स्वीकृत गरेको छ।
नेपाल क्लिन एयर एन्ड प्रोसपेरिटी प्रोजेक्ट नामक यो परियोजनाले औद्योगिक तथा व्यावसायिक बोइलर र भट्टीबाट निस्कने सूक्ष्म कण (पिएम २.५) प्रदूषण घटाउन मद्दत गर्नेछ।
परियोजना विशेष गरी वायु प्रदूषण गम्भीर समस्या बनेको काठमाडौं उपत्यका, तराई क्षेत्र र आसपासका पहाडी भू–भागमा केन्द्रित हुनेछ।
विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण स्वास्थ्य खर्च र श्रम उत्पादकत्वमा हुने क्षतिका कारण वार्षिक ६ प्रतिशतभन्दा बढी जिडिपी बराबरको आर्थिक भार पर्छ।
परियोजनाअन्तर्गत करिब ४ सय उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई स्वच्छ प्रविधि अपनाउन सहयोग गरिनेछ।
यसमा विद्युत बोइलर भट्टी, आधुनिक बायोमास बोइलर तथा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि जडान गर्न वित्तीय सहायता, प्रोत्साहन र प्राविधिक सहयोग दिइनेछ।
परियोजना उद्योग विभाग र वातावरण विभागले कार्यान्वयन गर्नेछन् भने राष्ट्रिय वाणिज्य बैंकमार्फत् स्वच्छ प्रविधिको लागि आवश्यक वित्तीय सुविधा दिनेछ।
यसका अतिरिक्त परियोजनामा युनाइटेड किङडम फरेन, कमन वेल्थ एण्ड डेभलपमेन्ट अफिस र स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशनको सहयोगमा सञ्चालित 'रेजिलिएन्ट एसिया कार्यक्रम' बाट ५ मिलियन डलर (७३ करोड ५० लाख रूपैयाँ) अनुदान पनि प्राप्त हुनेछ।