नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनासम्म (साउनदेखि माघसम्म) को तथ्यांक अनुसार निजी क्षेत्रमा बैंकिङ प्रणालीबाट दुई खर्ब २२ अर्ब रूपैयाँ थप कर्जा लगानी भएको छ।
निजी क्षेत्रतर्फ बैंकहरूको कुल कर्जा लगानी ५७ खर्ब १९ अर्ब पुगेको हो। माघ महिनामा मात्रै २४ अर्ब रूपैयाँ कर्जा लगानी थपिएको हो।
साउन र कात्तिकमा बैंकहरूको कर्जा लगानी घटेको थियो। यी अवधिमा बैंकहरूको कर्जा लगानी क्रमशः २ अर्ब र १८ अर्ब रूपैयाँले घटेको थियो।
मासिक आधारमा माघमा सबैभन्दा कमले कर्जा लगानी विस्तार भएको हो। पुस एकै महिनामा ९५ अर्बले कर्जा लगानी बढेको थियो।
चालु आर्थिक वर्षमा मासिक आधारमा यो वृद्धि नै सबैभन्दा धेरै हो।
कर्जाको ब्याजदर ऐतिहासिक न्यून विन्दुमा आए पनि कर्जा लगानी विस्तार हुन सकिरहेको छैन।
हाल बैंकहरूले औसत सात प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका छन्।