नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा स्पष्ट बहुमत पाउँदा छोटो अवधिमा राजनीतिक अनिश्चितता घट्ने र नीति निर्माण तथा कार्यान्वयन अनुमानयोग्य बन्ने देखिएको फिच रेटिङ्सले उल्लेख गरेको छ।
निर्वाचन परिणामले लामो समयसम्म मुलुकमा अस्थिरता रहनसक्ने जोखिम घटाएको, पछिल्ला वर्षमा जस्तो बारम्बार सरकार परिवर्तनको सम्भावना कम भएको र शासन प्रणाली तथा आर्थिक सुधारमा ठोस प्रगति देखिएमा समयसँगै लगानीकर्ताको विश्वास बढाउन सक्ने फिचको भनाइ छ।
रास्वपाको ठूलो जितले मतदाताले सत्ता साझेदारीमा आधारित यथास्थितिवादी राजनीतिबाट बाहिर निस्कन चाहेको संकेत दिएको छ।
निर्वाचन आयोगबाट अन्तिम प्रमाणीकरण भएपछि एकल पार्टीको बहुमत बनेमा राजनीतिक संक्रमण छोटो हुन सक्छ र जलविद्युत् केन्द्रित लगानीलाई व्यापक आर्थिक वृद्धिमा रूपान्तरण गर्न नेपाललाई सहयोग पुग्ने अनुमान फिचले गरेको छ।
रास्वपाले आगामी पाँच वर्षमा औसत वास्तविक आर्थिक वृद्धि दर करिब ७ प्रतिशत पुर्याउने र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्याउने लक्ष्य राखेको छ।
फिचले यसलाई महत्वाकांक्षी लक्ष्य मानेको छ।
फिचले आर्थिक वृद्धि ४.५ प्रतिशत हुने गरि यसअघि गरेको प्रक्षेपणमा कति सुधार हुन्छ भन्ने कुरा नयाँ सरकारको नीतिगत एजेन्डाले निर्धारण गर्ने उल्लेख गरेको छ।
रास्वपाको घोषणापत्र र सार्वजनिक अभिव्यक्तिले उत्पादकत्व वृद्धि, वैदेशिक रोजगारी घटाउन औपचारिक रोजगारी सिर्जना, तथा पूर्वाधार, कृषि, सेवा, डिजिटल र नवप्रवर्तनात्मक उद्योगहरूमा निजी क्षेत्र नेतृत्वको लगानी बढाउने नीति अघि सार्ने संकेत देखिएको फिचले उल्लेख गरेको छ।
फिचले २०२५ नोभेम्बरमा नेपालको क्रेडिट रेटिङ बिबी माइनसमा स्थिर राखेको थियो।
सुशासनमा सुधार र निजी तथा विदेशी लगानीका लागि अनुकूल नियमहरू भएमा बलियो तथा दिगो आर्थिक वृद्धि हुनसक्ने, प्रतिव्यक्ति आय उल्लेख्य रूपमा बढेमा नेपालको रटिङमा सुधार हुन सक्ने उल्लेख गरेको थियो।
समकालिन राष्ट्रहरूको तुलनामा नेपालमा सरकारी प्रभावकारिता र नियामन कमजोर भएकाले सुधार कार्यान्वयनमा चुनौती आउन सक्छ फिचले बताएको छ।
निजी लगानी र विदेशी सहभागिता, व्यवसायिक वातावरणमा मापनयोग्य सुधार, जवाफदेयी प्रणालीको सुदृढीकरण र नयाँ सरकारअन्तर्गत निरन्तर भ्रष्टाचारविरुद्धको कडाइमा नै रेटिङ सुधार निर्भर रहने फिचले जनाएको छ।