सेयर बजारमा सुधार देखिॅंदै गर्दा जलविद्युत समूह हालसम्मकै उच्च विन्दुमा आइपुगेको छ।
मंगलबार बजार बन्द हुँदा जलविद्युत समूह १.३२ प्रतिशतले बढेर ४००९.६७ विन्दुमा पुगेको छ।
यो जलविद्युत क्षेत्रले बनाएको नयाँ रकेर्ड हो।
गत साउन ११ गते ३९९६ विन्दुसम्म पुगेको यो समूहगत परिसूचक मंगलबार ४०३० विन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा ४००९ विन्दुमा आयो। बन्द विन्दुको आधारमा पनि यो हालसम्मकै उच्च हो।
जलविद्युत समूहमा सूचीकृत कम्पनीहरूको संख्या बढ्दै जाँदा र यी कम्पनीको मूल्यमा पनि सुधार हुँदै जाँदा नयाँ रेकर्ड बनाएको हो।
यसैबीच मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
सोमबार १५ अर्ब ७८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडमा सीमित भएको छ।
यसदिन ३४१ वटा धितोपत्रको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशत, सोलु हाइड्रोपावरको ९.९९ प्रतिशत, हिमालयन पावर पार्टनर र भुजुङ हाइड्रोपावरको ९.९८ प्रतिशत र होटल फरेस्ट इनको मूल्य ९.९७ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा फर्स्ट माइक्रोफाइनान्स रहेको छ।
उक्त कम्पनीको मूल्य ६.५६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९०९ रूपैयाँ २० पैसामा झरेको छ।
यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य ५.११ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९२ रूपैयाँ ५० पैसामा सीमित भएको छ।
मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ९०५ रूपैयाँमा ६७ करोड ४३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३६१ रूपैयाँ ४० पैसामा ५७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको बढेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ९.१२ प्रतिशतले बढेको छ।