कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ५५ करोड रूपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रूपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ८२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा ४१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहेको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रूपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा चैत २५ गतेसम्म अवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख ६ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयरएनपी डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।