नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२' पारित गरेको छ।
योसँगै दोस्रो बजारमा ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्ने व्यवस्था खुला भएको छ।
यो व्यवस्था नेपाल धितोपत्र बोर्डको निर्देशिका, २०८२ अनुसार लागू गरिएको हो।
कार्यप्रक्रिया अनुसार सबै सूचीकृत कम्पनी मार्जिन योग्य हुँदैनन्। कम्तीमा २५ लाख कित्ता सार्वजनिक सेयर भएको, चुक्ता पुँजीभन्दा नेटवर्थ बढी, पछिल्ला तीन वर्षमध्ये दुई वर्ष नाफामा र सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनी मात्र योग्य हुनेछन्।
नेप्सेले यस्ता कम्पनीको सूची प्रत्येक वर्ष अद्यावधिक गर्नेछ।
लगानीकर्ताले खरिद रकमको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन राख्नुपर्नेछ भने २० प्रतिशत सम्भार मार्जिन कायम गर्नुपर्नेछ।
मूल्य घटेर योभन्दा तल पुगेमा ब्रोकरले 'मार्जिन कल' गर्नेछन्। ब्रोकरले आफ्नो नेटवर्थको अधिकतम ५ गुणासम्म मात्र कर्जा दिन पाउनेछन् र एक ग्राहकलाई नेटवर्थको ५ प्रतिशतभन्दा बढी दिन पाइने छैन।
मार्जिन सुविधा दिन ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा २० करोड रूपैयाँ हुनुपर्नेछ र राफसाफ तथा निक्षेप सदस्य हुनुपर्नेछ।
यद्यपि, प्रणाली, खाता व्यवस्थापन र योग्य कम्पनीको सूची तयार नभएकाले मार्जिन कारोबार तत्काल सुरू हुने अवस्था छैन। आवश्यक तयारी पूरा भएपछि मात्र लगानीकर्ताले औपचारिक रूपमा ऋण लिएर सेयर किन्ने सुविधा पाउनेछन्। यसले बजारमा तरलता बढाउने अपेक्षा गरिएको छ।