एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चैत २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ५७ करोड रूपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रूपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ८० लाख २० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारण सेयरधनीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख १० गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।