भारतीय रूपैयाँ अमेरिकी डलरको तुलनामा सोमबार १४ वर्षयताकै कमजोर स्तरमा पुगेको छ।
अन्तरदिवसीय कारोबारमा भारू ९५.२२ सम्म पुगेको थियो भने हाल एक डलर किन्न भारतीयहरूले करिब ९५ भारू तिर्नु परेको छ।
कच्चा तेलको मूल्य वृद्धि र लगानीकर्ताको दबाबका कारण भारतीय सेयर बजारका सूचक सेन्सेक्स र निफ्टी समेत लगातार घटिरहेका छन्।
सन् २०२६ को सुरूदेखि नै भारू अमेरिकी डलरको तुलनामा ४ प्रतिशतभन्दा बढीले कमजोर भइसकेको छ।
चालु आर्थिक वर्षमा मात्रै करिब १० प्रतिशतले अवमूल्यन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसबीच, त्यहाँको केन्दीय बैंकले बैंकहरूको नेट ओपन पोजिसन (विदेशी मुद्रामा किनबेच पछिको खुद एक्सपोजर) १० करोड अमेरिकी डलरमा सीमित गर्ने निर्णय गरेको छ।
यो व्यवस्था अप्रिल १० सम्म लागु हुने बताइएको छ।
प्रारम्भिक रूपमा यसले भारूमा केही सुधार ल्याए पनि त्यो टिकाउ हुन सकेन।
विदेशी लगानीको बहिर्गमन, आर्थिक अवस्थाबारे चिन्ता, विश्वव्यापी अनिश्चितता तथा कच्चा तेलको मूल्य वृद्धिका कारण रूपैयाँमा दबाब परेको विश्लेषण गरिएको छ।
भारतकी अर्थमन्त्री निर्मला सितारमनले भने भारतीय अर्थतन्त्रका आधारभूत सूचकहरू बलिया रहेको दाबी गरेकी छन्।
भारू कमजोर भएसँगै त्यससँग स्थिर विनिमय दरमा जोडिएको नेपाली रूपैयाँ पनि डलरको तुलनामा थप कमजोर भएको छ।
मंगलबार नेपालमा एक डलरको मूल्य १५२ रूपैयाँ ०४ पैसा पुगेको छ।
गत पुसमध्ययता नेपाली मुद्रा डलरसँग करिब ५.५६ प्रतिशतले अवमूल्यन भइसकेको छ।
भारू कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा देखिन्छ।
यसले पेट्रोलियम लगायत डलरमा मूल्य निर्धारण हुने आयातित वस्तु महँगो बनाउँदै मुद्रास्फीति बढाउने दबाब सिर्जना गर्छ।
यद्यपि, विनिमय दर कमजोर हुँदा रेमिटेन्सको नेपाली रूपैयाँमा मूल्य बढ्ने भएकाले केही राहत पनि मिल्न सक्छ।