सेयर बजारमा मंगलबार देखिएको वृद्धि दोस्रो दिन पनि टिक्न सकेन।
बालेन सरकार आएसँगै नेता पक्राउको सिलसिला व्यवसायीहरूको पक्राउसम्म आइपुगेपछि बजार घटेको ब्रोकरहरू बताउँछन्।
'पहिले राजनीतिक व्यक्तिहरू पक्राउको कारण घटेको बजार पछिल्लो समय व्यवसायीहरू समेत पक्राउ पर्ने भएपछि थप ओरालो लागेको हो,' एक ब्रोकरले भने, 'व्यवसायीहरूले गलत गरेकै कारण पक्राउ भए पनि तत्काललाई त्यसको प्रभाव पर्ने नै थियो, यहीँ भएको हो।
उनले थपे, 'यदि गलत प्रवृत्तिहरू सफा हुँदै जान्छन भने भविष्यमा यसको सकारात्मक नै प्रभाव पर्ने हो, अहिलेलाई प्रभाव परेको हो।'
यसैबीच, बुधबार नेप्से ७४.७३ अंकले घटेर २८५१.०९ विन्दुमा बन्द भएको छ।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ११ अर्ब ११ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १२ अर्ब १० करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४७ वटा धितोपत्रको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ वटाको घटेको छ।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत, भुजुङ हाइड्रोपावर, रिज लाइफ इनर्जी र सूर्यकुन्ड हाइड्रोपारको मूल्य ९.९९ प्रतिशत र होटल फरेस्ट इनको ९.९८ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ।
उक्त कम्पनीको मूल्य ९.८४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६३ रूपैयाँमा झरेको छ।
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ७.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८४ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ७८६ रूपैयाँ ९० पैसामा ७१ करोड ३१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.७६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३५० रूपैयाँमा ४५ करोड ७२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हे।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।