बैंकहरूले कर्जामा दिने ब्याजदर ऐतिहासिक न्यून विन्दुमा आएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२ ८३ को आठ महिनाको तथ्यांकले यस्तो देखाएको हो।
फागुनमा वाणिज्य बैंकहरूले कर्जामा लिने औसत ब्याजदर ६.९ प्रतिशतमा ओर्लिएको छ। माघमा यस्तो औसत ब्याजदर ७ प्रतिशत थियो।
केही कर्जा शीर्षकमा बैंकहरूले ६ प्रतिशत हाराहारीमा समेत कर्जा दिॅंदै आएका छन्।
अहिलेको औसत ब्याजदर ऐतिहासिक न्यून हो।
त्यस्तै, साउनदेखि फागुनसम्ममा बैंकिङ प्रणालीबाट निजी क्षेत्रले थप दुई खर्ब ४३ अर्ब रूपैयाँ कर्जा लगानी पाएको छ।
निजी क्षेत्रतर्फ बैंकहरूको कुल कर्जा लगानी ५७ खर्ब ५१ अर्ब पुगेको हो। फागुन महिनामा मात्रै २१ अर्ब रूपैयाँ कर्जा लगानी थपिएको हो।
साउन र कात्तिकमा बैंकहरूको कर्जा लगानी घटेको थियो। यी अवधिमा बैंकहरूको कर्जा लगानी क्रमशः २ अर्ब र १८ अर्ब रूपैयाँले घटेको थियो।
मासिक आधारमा माघमा सबैभन्दा कमले कर्जा लगानी विस्तार भएको हो।
पुस एकै महिनामा ९५ अर्बले कर्जा लगानी बढेको थियो।
चालु आर्थिक वर्षमा मासिक आधारमा यो वृद्धि नै सबैभन्दा धेरै हो।
कर्जाको ब्याजदर ऐतिहासिक न्यून विन्दुमा आए पनि कर्जा लगानी विस्तार हुन सकिरहेको छैन।