बैंकहरूको ब्याजदर न्यून भएपछि सेयर धितोमा जाने कर्जा प्रवाह उच्चले बढेको छ।
एक वर्षको अवधिमा बैंकहरूबाट सेयर धितोमा जाने कर्जा करिब २६ प्रतिशतले बढेको हो।
२०८१ चैतसम्ममा एक खर्ब २४ अर्ब रूपैयाँ सेयर धितो कर्जा लगानी भएकोमा यो फागुनसम्ममा एक खर्ब ५६ अर्ब रूपैयाँ बराबरको लगानी भएको हो।
अहिले सबैखाले कर्जाको औसत ब्याजदर ऐतिहासिक न्यून ६.९ प्रतिशतमा आएको छ।
करिब दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त कर्जा लगानी योग्य पुँजी छ।
यही कारण निक्षेप र कर्जा दुवैको ब्याजदर अहिले न्यून विन्दुमा आएको हो।
यसको लाभ सेयर बजारले पनि पाएको हो। सेयर धितोमा मासिक औसत तीन अर्ब रूपैयाँ बराबरको नयाँ कर्जा गएको हो।
गत असारमा सबैभन्दा धेरै १२ अर्ब तीन करोड रूपैयाँ यस्तो कर्जा थपिएको हो। त्यस महिना कुल एक खर्ब ४० अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो।
चुनावी महिना भएकोले फागुनमा भने मात्रै १२ करोड रूपैयाँ बराबर थप कर्जा गयो।
भदौ २३ र २४ को जेनजी आन्दोलन, दसैंजस्ता चाडपर्वको कारण गत असोजमा यस्तो कर्जा प्रवाह घटेको छ।
भदौसम्ममा कुल एक खर्ब ४५ अर्ब रूपैयाँ कर्जा गएकोमा असोजसम्ममा यस्तो कर्जा प्रवाह एक खर्ब ४४ अर्ब रूपैयाँ पुगेको थियो।
त्यस्तै, साउनदेखि फागुनसम्ममा प्रति ग्राहक ५० लाख रूपैयाँदेखि एक करोड रूपैयाँसम्म दिइने यस्तो कर्जा लिने सबैभन्दा धेरैले बढेको छ।
यो अवधिमा यस्तो कर्जा १७.४ प्रतिशतले बढेर १८ अर्ब रूपैयाँ गएको हो। असारअन्त्यमा यो सीमा बराबरको यस्तो कर्जा १६ अर्ब रूपैयाँ थियो।
एक करोड रूपैयाँभन्दा बढी रकमको यस्तो कर्जाको वृद्धि दर १०.८ प्रतिशत छ।
असारअन्त्यमा ९८ अर्ब रूपैयाँ कर्जा गएकोमा फागुनमा एक खर्ब नौ अर्ब रूपैयाँ कर्जा गएको छ।