सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।
नेपालमा रहेको एक मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सरकारी लगानीको सेयर बजार हो।
त्यसैले शनिबार र आइतबार दुई दिनको बिदा नेप्सेमा पनि लागू हुने भएको छ।
त्यसो भए के अब बजार चार दिन मात्रै कारोबार हुन्छ त?
नेप्से एक अधिकारी भन्छन्, 'अहिलेसम्म यस विषयमा कुनै निर्णय भएको छैन, सञ्चालक समितिले केही न केही निर्णय गर्छ।'
अहिले आइतबारदेखि शुक्रबारसम्म नेप्सेको कार्यालय खुला हुन्छ। कारोबार भने साताको पाँच दिन, आइतबारदेखि बिहीबारसम्म मात्रै हुन्छ।
अब आइतबार बिदा हुने भएपछि कारोबार के हुने भन्ने अन्योल रहेको हो।
यद्यपि यसअघि पनि यसरी शनिबार र आइतबार सार्वजनिक बिदा दिइँदा शुक्रबार पनि कारोबारका लागि बजार खुल्ने गरेको नेप्सेका ती अधिकारी बताउँछन्।
यसअघि २०७९ जेठदेखि यसरी बिदा दिइएको थियो। तर, सार्वजनिक बिदाको यो निर्णय तत्कालीन शेरबहादुर देउवाको सरकारले एक महिनामै फिर्ता लिएको थियो।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालय अवधि समेत ९ बजेदेखि सुरू हुने निर्णय गरेको छ।
सेयर बजारमा शुक्रबार कारोबार भएन भने कारोबार अवधि बढाइन्छ कि बढाइदैन भन्ने विषयमा पनि सञ्चालक समितिको निर्णयमा भर पर्ने उनले जानकारी दिए।