अर्थमन्त्री स्वर्णिम वाग्लेले स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधिसँगको भेटमा लगानीकर्ता हितमा नीतिगत सुधार गर्ने आश्वासन दिएका छन्।
एसोसिएसनले बजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्री वाग्लेले सकारात्मक देखिएको बताएको छ।
ब्रोकरहरूसँगको भेटमा बजार प्रवर्द्धनमा सरकार सक्रिय रहने र लगानीकर्ताको मनोबल घट्ने खालका कुनै कार्यक्रम नआउने पनि वाग्लेले स्पष्ट पारेका छन्।
एसोसिएसनका अध्यक्ष सागर ढकालका अनुसार अर्थमन्त्री वाग्लेले कुनै पनि लगानीकर्ता र ब्रोकरमाथि प्रतिशोध नसाधिने, व्यवसायीहरूलाई थुन्नेभन्दा सुन्ने नीति नै अपनाइने र विगतमा अध्ययन गरी तयार पारिएका सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
पुँजी बजारलाई पारदर्शी तथा व्यवस्थित बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै आवश्यक कानुनी सुधार गर्न सरकार तयार रहेको वाग्लेले उल्लेख गरेको ब्रोकरहरूले बताएका छन्।
सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान अघि बढिरहे पनि सरकारले व्यवसायीलाई लक्षित नगरेको, उनीहरूलाई प्रभावित पारिरहेका वर्गलाई पहिचान गर्न लागिरहेको पनि वाग्लेले जानकारी दिएको एक ब्रोकरले भने।
एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई सहज रूपमा पुँजी बजारमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था तत्काल लागु गर्न माग गरेको छ।
हाल सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाइने प्रावधान परिवर्तन गर्नुपर्ने उनीहरूको भनाइ छ।
त्यस्तै, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्न दिनुपर्ने माग पनि गरिएको छ।