सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
अघिल्लो दिन १०५ अंकले घटेको नेप्सेले यसदिन ८३.३३ अंक जोडेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधिसँग लगानीकर्ताका हितमा नीतिगत सुधार गर्ने आश्वासन दिएका कारण नेप्सेमा सुधार आएको देख्न सकिन्छ।
सोमबार ब्रोकरहरूसँगको भेटमा डा. वाग्लेले बजार प्रवर्द्धनमा सरकार सक्रिय रहने र लगानीकर्ताको मनोबल घट्ने खालका कुनै कार्यक्रम नआउने बताएका थिए।
नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार १२ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ९२ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४५ वटा धितोपत्रको दुई करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २६४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ।
यसदिन ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत, सुपर खुदी हाइड्रोपावर, रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रोपार र होटल फरेस्ट इनको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा लक्ष्मी बैंक डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य ३.१० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ९५ रूपैयाँमा झरेको छ।
यसैगरी, सेन्चुरी बैंकको डिबेन्चरको मूल्य १.९४ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार २६५ रूपैयाँमा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको तीन हजार ५०९ रूपैयाँमा एक अर्ब १३ करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ७२० रूपैयाँमा ५४ करोड ९२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ।