नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएको ब्रोकर कम्पनीलाई केही महिना निलम्बन गर्ने खबर सार्वजनिक भएको छ।
सञ्चालक समितिले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजलाई कारबाही गरेको खबर बजारमा फैलिए पनि धितोपत्र बोर्डले यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।
सामान्यतया लगानीकर्ताहरूले सेयर, बजार वा कारोबारसँगसम्बन्धित जानकारी धितोपत्र बोर्डको आधिकारिक वेबसाइट, नेप्सेको वेबसाइटबाट प्राप्त गर्ने भए पनि यो विषयमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।
सञ्चालक समितिले गरेको भनिएको यो निर्णय कतिपय कर्मचारी अहिले 'फोर्स लिभ'मा रहेकाले पनि धितोपत्र बोर्डका प्रवक्ता लगायतका कर्मचारीहरूलाई समेत यसको जानकारी छैन।
यसले सम्बन्धित ब्रोकर कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्ताहरू अन्योलमा परेका छन्।
यदि ब्रोकरलाई कारबाही नै भए सेयर लगानीकर्ताहरूको के हुन्छ?
धितोपत्र बोर्डका एक अधिकारी भन्छन्, 'ब्रोकरले सम्पन्न भइसकेका कारोबारको दायित्व फरफारक गर्न कुनै समस्या हुँदैन।'
यदि लगानीकर्ताहरूले सेयर कारोबारको लागि पहिले नै २५ प्रतिशत रकम ब्रोकर खातामा हालेको अवस्थामा यस्तो रकम ब्रोकरले फिर्ता गर्नुपर्ने ती अधिकारी बताउँछन्।
लगानीकर्ताहरूले अनलाइन सेयर कारोबारको लागि अन्य ब्रोकरकोमा टिएमएस खाता खोल्नुपर्ने पनि हुन्छ।
तर, सेयर अभौतिक (विद्युतीय) रूपमा रहेको डिम्याट खाता ५५ नम्बर ब्रोकरकोमै खोलेको छ भने पनि अन्य ब्रोकरको टिएमएस खाताबाट कारोबार गर्न समस्या नहुने ती अधिकारीले बताए।
व्यवसायी दिपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा आफ्नोबाहेक अन्य खाताबाट रकम भुक्तानी भएको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सो ब्रोकर माथि कारबाही गर्न धितोपत्र बोर्डलाई भनेको थियो।
यो पनि:
दिपक भट्टको कारोबारसँग जोडिएका सेयर ब्रोकरलाई पनि कारबाही हुने