व्यवसायी दिपक भट्टको सेयर कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ निलम्बनमा पर्दा बिहीबार ७९ हजारले सेयर कारोबार गर्न पाएनन्।
भृकुटीको कुल ग्राहक संख्या ७९ हजार ७१७ रहेको छ। आफूले कारोबार गरिरहेको ब्रोकर निलम्बनमा परेपछि यी ग्राहकले बिहीबार सेयर कारोबार गर्न नपाएका हुन्।
ब्रोकर नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत् भट्टले सेयर खरिद गरेका थिए।
भट्टले सेयर कारोबारका लागि आफ्नो सिद्धार्थ बैंकको खाता प्रयोग नगरी अन्यत्रबाट सेयर कारोबारको भुक्तानी भएको पाइएको थियो।
भट्टले खरिद गरेको सेयर भुक्तानीका लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआइ लार्ज क्याप फण्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको हो।
यो ब्रोकर कम्पनीले ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो बापतको रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको, आवश्यक कानुनी व्यवस्था पालना नगरेको तथा अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएको थियो।
कम्पनीले खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गरिदिने र बिक्रीकर्तालाई समयमै रकम नदिने जस्ता कार्य गरेको पनि बोर्डले उल्लेख गरेको छ।
चैत १२ गतेसम्म कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम करिब ५ अर्ब ११ करोड रूपैयाँभन्दा बढी रहेको देखिएको छ।
यस्ता गतिविधिले सेयर मूल्यमा असर पार्ने र पुँजी बजारमा नकारात्मक प्रभाव पर्ने भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको अनुमतिपत्र तत्काल निलम्बन गरेको हो।
नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ यसरी अनुमति पत्र निलम्बन गर्दा अधिकतम ६ महिनालाई गर्न सक्ने व्यवस्था गरेको छ।
बोर्डले निलम्बन अवधिमा कम्पनीलाई कानुनी व्यवस्था अनुसार लगानीकर्ताको बक्यौता रकम फर्छ्यौट गर्न निर्देशन दिएको छ।
उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्तालाई आवश्यक परे अन्य दलालमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने पनि जनाइएको छ।
हाल भृकुटीले नेप्सेबाट उपलब्ध गराइएको कारोबार प्रणाली टिएमएस प्रयोग गरिरहेको छ। यो ब्रोकरले सेयर कारोबार सेवा दिन नपाउने गरेर निलम्बनमा परेको हो।
त्यसैले यही ब्रोकरकोमा सेयर राखिने विद्युतीय खाता (डिम्याट खाता) भने लगानीकर्ताले सार्नु पर्दैन।
ग्राहकहरूले सेयर कारोबार गर्ने टिएमएस खाता मात्रै सारे पुग्छ।
'ग्राहकहरूले चिठी वा इमेलमार्फत ५५ नम्बर ब्रोकरलाई आफ्नो टिएमएस खाता बन्द गर्न अनुरोध गर्नुपर्छ,' नेप्सेका एक अधिकारीले भने, 'उसले खाता बन्द गरिदिएको जानकारी लिएर ग्राहकले अन्य ब्रोकरकोमा गएर खाता खोल्न सक्छन्।'
'सामान्यतया टिएमएस खाता खोल्न एकदिन पनि लाग्दैन। ती अधिकारीले थपे,' भृकुटीले ग्राहकलाई कसरी सहजीकरण गर्छ भन्ने आधारमा नै यस्तो समय कति लाग्छ भन्ने हो।'