पाल्पा सिमेन्ट र शिखर पावरको सेयर कारोबार आज (शुक्रबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा पाल्पा सिमेन्टको सेयर प्रतिकित्ता ३०० रूपैयाँ र शिखर पावरकको २८४ रूपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
पाल्पा सिमेन्टको 'पिसिआइएल' र शिखर पावरको 'एसआइपिडी' संकेतमा सेयर कारोबार खुला भएको छ।
दुबै कम्पनीको आइपिओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो।
पाल्पा सिमेन्टले सर्वसाधारण सेयरधनीहरूलाई जारी गरेको ७५ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरूले लगानी गरेको तीन करोड कित्ता सेयर गरी कुल तीन करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
पाल्पाले पहिलो कारोबारको लागि ९४ रूपैयाँ ७७ पैसादेखि २८४ रूपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज पाएको थियो।
त्यस्तै, शिखर पावरले सर्वसाधारण सेयरधनीहरूमा वितरण गरेको ३२ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरूले लगानी गरको ६६ लाख कित्ता सेयर गरी कुल ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले शिखर पावरलाई ९४ रूपैयाँ ७८ पैसादेखि २८४ रूपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ।