नेपाली कांग्रेसमा संस्थापन र इतर भन्ने दुई गुट सधैं भइरहन्थे।
गिरिजाप्रसाद कोइराला कांग्रेसको सत्तामा छँदा शेरबहादुर देउवा विद्रोही भनेर चिनिए। उनै देउवा पार्टी सभापति भएर संस्थापन पक्षमा पुगेपछि यही गुटका नेता थिए- योगेन्द्र चौधरी।
उनै चौधरीलाई नेपाली कांग्रेसको विशेष महाधिवेशनले थारू क्लस्टरबाट सहमहामन्त्री बनाएको छ।
जेनजी आन्दोलनपछि कांग्रेसमा चुलिएको चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने बहसले देउवा समूहभित्रै एउटा सानो समूह जन्माएको थियो, जो महाधिवेशन चाहन्थ्यो।
५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन गर्न हस्ताक्षर बुझाएपछि यो बहसले झन् सघन रूप लियो।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सके नियमित, नभए विशेष महाधिवेशन गर्नैपर्ने भन्दै आएका थिए। महाधिवेशनबाट नेतृत्व परिवर्तन र सुधारको बाचा नगरी फागुन २१ को चुनावमा जान सकिन्न भन्ने उनीहरूको धारणा थियो। संस्थापन पक्षले भने चुनावअघि महाधिवेशन गर्न नभ्याइने तर्क गर्दै आएको थियो।
त्यसैबीच केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्ने धारणा राखे। ती २५ जनाको छुट्टै समूह पनि बन्यो, जसमा पछि ५ जना थपिए।
महाधिवेशनका लागि आफ्नो समूहका नेताहरूलाई निरन्तर सम्झाउँदै आएको यो समूहको कुरा उनीहरूले सुनेनन्। र, अन्तत: उनीहरू विशेष महाधिवेशनमा आए। योगेन्द्र चौधरी तिनैमध्ये एक हुन्।
चौधरी दाङको लमहीका नेता हुन्। स्कुल र क्याम्पसमा पढ्दा नै उनी राजनीतिमा चासो राख्थे। पछि कांग्रेसको पार्टी राजनितीमा सक्रिय भए।
२०६२-६३ को जनआन्दोलनपछि नेपालमा विभिन्न समुदायले आफ्ना हकअधिकार र राज्यसत्तामा सहभागिता खोज्दै आन्दोलन गरेका थिए। त्यो बेला पश्चिम तराईबाट थरूहट आन्दोलन जागेको थियो। योगेन्द्र उक्त आन्दोलनमा सहभागी भइरहन्थे।
त्यही बेला पूर्वी नेपालमा मधेस आन्दोलन सुरू भयो।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरमले सञ्चालन गरेको उक्त आन्दोलनले थारूवानहरूलाई पनि समेट्यो। त्यसपछि सबै आन्दोलनका मागको दीर्घकालीन समाधान संविधानसभाबाट बनेको संविधानले गर्ने भनियो।
२०६४ को संविधानसभा चुनाव बेला नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आफ्नो समूहसहित उपेन्द्र यादवको पार्टीमा गए। योगेन्द्र त्यही समूहबाट संविधानसभा सदस्य भए। यादव र गच्छदार मिलेर बनेको पार्टी फुटेपछि योगेन्द्र गच्छदारतिर लागे।
कांग्रेसबाट अलग्गिएको १० वर्षपछि २०७४ सालमा गच्छदार कांग्रेससँगै मिल्न आए। उनीसँगै योगेन्द्र पनि कांग्रेस फर्किए। त्यसपछिको महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भए।
त्यति बेला गच्छदार समूह सभापति देउवा गुटमा मिसिएको थियो। गच्छदार अहिलेसम्म त्यही गुटमा छन्। योगेन्द्र पनि केही अघिसम्म त्यही गुटमा थिए तर जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको नेतृत्व र नीति सुधारको एजेन्डा बोकेर उनी त्यो गुटबाट बाहिरिएका छन्।
योगेन्द्रलाई थारू समुदायले आफ्नो हकहितमा काम गरेको नेता भनेर चिन्छन्। देउवाको पकड भएको दाङ जिल्लाका नेता योगेन्द्रलाई कांग्रेसले पछिल्लो समय क्रियाशील सदस्यता छानबिन समितिको सदस्य पनि बनाएको थियो।
थरूहट नेताको पहिचान बनाएका योगेन्द्र गत भदौमा मात्र कांग्रेस थारू विभागको प्रमुख बनाइएका थिए।
कांग्रेसले उनलाई फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट एक नम्बरमा नाम सिफारिस समेत गरेको छ। देउवा पक्षको नेता भएकैले उनी दाङबाट एक नम्बरको सिफारिसमा परेका थिए। तर देउवाको लाइन विपरीत महाधिवेशन गर्नुपर्छ भन्ने अडानमा उभिएपछि उनलाई जिल्लाभित्र प्रश्न गर्नेहरू धेरै थिए। उनले व्यक्तिगत रूपमा भने देउवा पक्ष नछाडेको बताउँदै आएका थिए।
पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदै गर्दा उनी दाङमै थिए।
संस्थापन पक्षमा रहेर महाधिवेशनको माग गरिरहेका ३० जनाको समूहले विशेष महाधिवेशनमा भाग लिने निर्णय गरेपछि उनी हतार हतार काठमाडौं फर्किए। र, विशेष महाधिवेशनको पक्षमा खुले।
त्यसको दुई दिनमै विशेष महाधिवेशनले निर्विरोध निर्वाचित गरेको पदाधिकारीमा थारू क्लस्टरबाट सहमहामन्त्री बने।
यी पनि पढ्नुहोस्: