व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएको ब्रोकर कम्पनीलाई पनि कारबाही हुने भएको छ।
सम्बन्धित ब्रोकरमाथि कारबाही गर्न सम्पत्ति शुद्धीकरण विभागले सेयर बजार नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई भनेको छ।
व्यवसायी दिपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा आफ्नो बाहेक अन्य खाताबाट रकम भुक्तानी भएको देखिएपछि ब्रोकर माथि कारबाही गर्न विभागले भनेको हो।
ब्रोकर नम्बर ५५ भृकुटि स्टक ब्रोकिङ कम्पनीमार्फत् भट्टले सेयर खरिद गरेका थिए।
भट्टले सेयर कारोबारको लागि आफ्नो सिद्धार्थ बैंकको खाता प्रयोग नगरि अन्यत्रबाट सेयर कारोबारको भुक्तानी भएको पाइएको थियो।
भट्टले खरिद गरेको सेयर भुक्तानीको लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआइ लार्ज क्याप फण्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको हो।
ब्रोकर कम्पनीले सेयर कारोबारको क्रममा आफूले गर्नुपर्ने तीन काम नगरेको पाइएको हो।
सेयर कारोबार गर्नुअघि कम्तीमा २५ प्रतिशत पेस्की राख्नुपर्ने नियम पालना नगरेको, सम्बन्धित व्यक्तिको खाताभन्दा अन्य बैंक खाताहरूबाट कारोबारको भुक्तानी भएको र सेयर कारोबारको लागि तोकिएको व्यवस्था विपरीत कारोबार गराइएकोमा कारबाही हुने भएको हो।
कारबाही स्वरूप बजार नियामक धितोपत्र बोर्डका यस ब्रोकरको कारोबार केही समयलाई रोक्का गरिने स्रोतले जानकारी दियो।
भृकुटी स्टकका सञ्चालक सन्दिप चाचनसँग भने कुराकानी गर्ने हाम्रो प्रयास सम्भव हुन सकेन।
व्यवसायी भट्टले हिल्टन होटलको बीमा समेत आफ्नो लगानीको अर्को कम्पनी हिमालयन रि इन्स्योरेन्समा सार्न समेत भूमिका खेलेको थिए।
नियमअनुसार यस्तो बीमा सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीमा गर्न पर्ने भए पनि हिमालयन रिमा सारिएको पाइएको थियो।
जेनजी आन्दोलनको क्रममा हिल्टन होटलमा क्षति पुगेपछि परेको दाबी यही कारण भुक्तानी हुन सकेन र विवादमा परिरहेको छ।
यो पनि:
हिल्टन होटलको पुनर्बीमा प्रकरणमा दुई इन्स्योरेन्स कम्पनी र ब्रोकरलाई कारबाही