नेपाली कांग्रेसको १४ औं महाधिवेशनकी ‘वुमन अफ दि इलेक्सन’ बनेकी थिइन् मुक्ताकुमारी यादव।
त्यसबेला सबभन्दा धेरै मत पाएर केन्द्रीय सदस्य चुनिएकी महोत्तरीकी यादवले कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा फड्को मारेकी छन्।
यादवको राजनीतिक यात्राको सबैभन्दा उल्लेखनीय मोड भने नेपाली कांग्रेसको १४ औँ महाधिवेशन हो। केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी उनले मधेसी महिलातर्फ खसेको ४६७१ मतमध्ये ३९६० मत प्राप्त गरिन्। करिब ८५ प्रतिशत मतसहित उनी सर्वाधिक मत ल्याउने नेता बनिन्।
कांग्रेस नेताहरूका अनुसार त्यसबेला शेरबहादुर देउवा र शेखर कोइराला दुवै समूहमा परेकी उनले सर्वाधिक मत पाएकी थिइन्।
४८ वर्षीया यादवले सहमहामन्त्रीका रूपमा कांग्रेस पदाधिकारीको भूमिका थाल्नुअघि विभिन्न राजनीतिक जिम्मेवारीको अनुभव संगालिसकेकी छन्।
मधेसी क्लस्टरबाट सहमहामन्त्री बनेकी मुक्ता यादवको राजनीतिक यात्रा करिब तीन दशक लामो छ। २०३४ साल भदौ १३ गते जन्मेकी यादव हाल धनुषाको सहिदनगर नगरपालिका–१, बालाबाखरमा बसोबास गर्छिन्।
स्नातक तहसम्म अध्ययन गरेकी उनी कुनैबेला शिक्षक थिइन्। यद्यपि विस्तारै सक्रिय राजनीति नै उनको दीर्घकालीन कर्मभूमि बन्यो। २०५३ मा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्य बनेर सुरू भएको थियो मुक्ताको राजनीतिक यात्रा।
उनी जतिबेला राजनीतिमा होमिँदै थिइन्, त्यसबेला राजनीतिमा मधेसी महिलाको सहभागिता ज्यादै न्यून थियो।
शिक्षक आन्दोलनसँग नजिक रहेकी यादव २०५७ सालमा नेपाल शिक्षक संघको केन्द्रीय प्रतिनिधि बनेकी थिइन्।
राजनीतिक आस्थाका कारण उनले कठिन समय पनि भोगिन्।
२०५७ सालमै तत्कालीन माओवादी हिंसाका कारण उनी जिल्लाबाट विस्थापित हुनुपर्यो। त्यो अनुभवले उनलाई राजनीतिप्रति झनै प्रतिबद्ध बनाएको उनलाई चिन्नेहरू बताउँछन्।
२०६२–६३ को जनआन्दोलनपछि खुलेको राजनीतिक अवसरसँगै यादव राष्ट्रिय राजनीतिमा प्रवेश गरिन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनिन्।
२०७४ सालमा उनी तत्कालीन प्रदेश २ (हाल मधेस) बाट राष्ट्रियसभा सदस्य बनिन्। कार्यकालको चिठ्ठा तान्दा दुई वर्षे कार्यकालमा परेकी उनले संसदमा मधेस, महिला र शिक्षा क्षेत्रका विषयमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
राष्ट्रिय सभाबाट बिदा भएपछि २०७९ को चुनावबाट उनी त्यसपछि फेरि प्रतिनिधि सभाको समानुपातिक सांसदका रूपमा संसदमा फर्किइन्।
विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनु मुक्ता यादवको राजनीतिक यात्राको अर्को उचाइ हो।
सहमहामन्त्रीको भूमिकामा प्रवेशसँगै मुक्ता यादव अब पार्टी संगठन, नीति र रणनीतिमा प्रत्यक्ष प्रभाव पार्ने स्थानमा पुगेकी छन्।
तीन दशकको संघर्ष, संगठन निर्माण र संसदीय अनुभव बोकेकी उनी कांग्रेसभित्र बदलिँदो समयको एक महत्वपूर्ण पात्र बनेकी छन्।
यी पनि पढ्नुहोस्: