टी-२० विश्वकप २०२६ विशेष
नन्दन यादवको क्रिकेट करिअर संघर्षपूर्ण छ। दशक लामो क्रिकेट करिअर छाडेर उनी अस्ट्रेलिया पलायन भइसकेका थिए। तर एउटा प्रतियोगितले उनको यात्रा मोडिदियो।
पहिलो सिजनको नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलिया फर्कन एयरपोर्ट पुगिसकेका थिए उनी। तर आमाको फोनले उनी बोर्डिङ पास लिए पनि उनी रोकिए। त्यसपछि नेपाली टोलीमा डेब्यू गरेका नन्दन नेपाली टोलीमा सुझबुझपूर्ण बलिङ गर्ने मध्यम गतिका बलरको रूपमा चिनिएका छन्।
पूरा नाम: नन्दन कुमार यादव
जन्म: जुलाई २७, २०००, सर्लाही
उमेर: २५ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
बलिङ शैली: दाहिने हाते मध्यम गति
भूमिका: बलर
टी-२० आई डेब्यू: कतार विरुद्ध नेपाल, मोङ कोक-अप्रिल ९, २०२५
अग्लो कदका नन्दन एक्युरेसी, योर्कर र बाउन्सरका लागि चिनिन्छन्। दायाँ हाते मध्यम-गतिका बलर नन्दनले ९ अप्रिल २०२५ मा हङकङमा भएको कतार विरुद्धको खेलबाट आफ्नो टी-२० आई डेब्यू गरेका थिए।
त्यहिँ वर्ष उनले नेदरल्यान्ड्स विरूद्धको खेलबाट एकदिवसीय डेब्यू गरेका हुन्, जहाँ उनले ३ विकेट लिँदै नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका खेले।
नन्दनको क्रिकेटर करिअरको सबैभन्दा नाटकीय मोड अस्ट्रेलिया प्रस्थानसँग जोडिएको छ। आर्थिक समस्याका कारण उनले केही समय अस्ट्रेलिया बसेर क्रिकेट खेलेका थिए।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्न सन् २०२४ को अन्त्यतिर नेपाल फर्किएका उनी पुनः अस्ट्रेलिया फर्कने तयारीमा थिए।
विमानस्थल पुगेर बोर्डिङ पास समेत लिइसकेका थिए। तर आमाको फोन र आँसुका कारण उनले विदेश जाने निर्णय त्यागे। नेपालमै बसेर क्रिकेट खेल्ने संकल्प गरे।
अस्ट्रेलियामा गएर क्रिकेट खेलेपछि नन्दनको बलिङमा निखारता आएको थियो। त्यसैले उनले पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका थिए। उनले डेथ ओभरमा गरेको बलिङले धेरैलाई प्रभावित पारेको थियो। त्यहिँ बलिङका कारण उनको नेपाली राष्ट्रिय टोलीमा डेब्यू गर्ने अवसर मिलेको थियो।
अस्ट्रेलियाको ‘नेभर गिभ अप माइन्सेट’ले खेलमा धेरै निखार ल्याउन मद्दत गरेको उनले बताउने गरेका छन्।
नन्दनको घर सिराहाको बरियारपट्टीमा पर्दछ। उनका बुबा प्रहरीबाट अवकाश प्राप्त हुन्। उनको परिवारमा आर्थिक समस्या र ऋणका कारण ठुलो संघर्ष थियो। बुबाले नन्दनको पढाइ र खेलका लागि खेत समेत बेचेका थिए।
उनले इन्जिनियरिङ पढ्न खोजे पनि क्रिकेटकै लागि कलेज छोडेका थिए। नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले उनलाई ११ लाख रुपैयाँमा अनुबन्ध गरेपछि उनलाई आर्थिक रूपमा केही राहत मिलेको थियो।
उनी सन् २०१४ को टी-२० विश्वकपमा सोमपाल कामीको बलिङबाट प्रभावित भएर पेस बलर बन्न प्रेरित भएका थिए ।
खेलअघि उनी हनुमान चालिसा सुन्ने र ध्यान गर्ने गर्छन्, जसले उनलाई खेलमा एकाग्र हुन मद्दत गर्छ।
नन्दनको प्रतिभालाई तिखार्न पूर्वकप्तान ज्ञानेन्द्र मल्लको ठूलो हात छ। उनी ज्ञानेन्द्र मल्ललाई आफ्नो परिवारको सदस्य जस्तै मान्छन् र निकै सम्मान गर्छन्। उनलाई हालका प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षण र स्पष्ट योजनाले पनि खेलमा थप आत्मविश्वास दिएको छ।
व्यक्तिगत सुख र विदेशको सुविधाभन्दा देशका लागि खेल्ने सपनालाई प्राथमिकता दिएका नन्दनका लागि आइसिसी टी-२० विश्वकप २०२६ आफूलाई प्रामाणित गर्ने उत्तम अवसर हो।
नेपाली टोलीका खेलाडीबारे पढ्नुहोस् :-