काठमाडौं उपत्यका निर्वाचन क्षेत्र शृंखला
भक्तपुर–२ मा चार पटक उम्मेदवार बनेका महेश बस्नेत दोस्रो जितको प्रयासमा छन्।
उनी २०७० सालको दोस्रो संविधानसभा र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए भने २०७४ सालमा विजयी भएका थिए।
यसपालि बस्नेतको दोस्रो जित रोक्न तीन जना पत्रकारसहित ३२ जना उम्मेदवार मैदानमा छन्। तीमध्ये १७ जना राजनीतिक दलका उम्मेदवार हुन् भने १५ जना स्वतन्त्र हुन्।
सानो जिल्लाको परिचय पाएको भक्तपुर–२ मा ९८ हजार ३५६ मतदाता छन्। ३९ मतदान स्थल र ११४ केन्द्र छन्।
भक्तपुर–१ सँग नेपाल मजदुर किसान पार्टीको विरासत गाँसिएको छ। २०४८ सालयता पूर्वी भक्तपुरमा निरन्तर मादल उच्च ध्वनिका साथ बजिरहेको छ।
२०४८ यता चुनावैपिच्छे फरक फरक दल पहिलो पार्टी हुने गरेको छ। पहिलो हुने पार्टीले पनि भक्तपुर–१ मा प्रभाव विस्तार गर्न सकेको छैन। नेमकिपा अजेय शक्तिका रूपमा रहँदै आएको छ।
२०६४ सालमा भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीले अभूतपूर्व लहर ल्याएको थियो। त्यो लहरले भक्तपुरमा कुनै प्रभाव पार्न सकेको थिएन।
भक्तपुर–१ लाई अभेद्य किल्ला नै बनाएको नेमकिपाले केही निर्वाचनमा भक्तपुर–२ मा पनि जित विस्तार गरेको छ। २०४८ सालयता भक्तपुर–२ का सातवटा निर्वाचनमा चार पटक नेपाली कांग्रेस, दुई पटक नेमकिपा र एक पटक एमालेले जीत हासिल गरेको छ।
राष्ट्रिय पञ्चायतका दुई निर्वाचनमा भक्तपुरबाट एक जना मात्र प्रतिनिधि निर्वाचित हुने व्यवस्था थियो। २०३८ सालमा कर्णप्रसाद हेजु निर्वाचित भएका थिए भने २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा गोविन्द दुलाल निर्वाचित भएका थिए।
२०४८ सालको आमनिर्वाचनमा भक्तपुर–२ बाट नेपाली कांग्रेसका जगन्नाथ आचार्य निर्वाचित भए। उनले १६ हजार ५२ मत ल्याउँदा निकट प्रतिस्पर्धी पूर्वपत्रकार भैरव रिसालले १४ हजार ७५२ मत ल्याए। उनी नेमकिपाबाट उम्मेदवार थिए।
२०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले पहिलो दल बनेको थियो।
एमालेले तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनाएको थियो। उक्त निर्वाचनमा भक्तपुर–२ मा भने नेमकिपा निर्वाचित भएको थियो। नेमकिपाका आशाकाजी बासुकला १३ हजार ५८१ मतसहित सांसद निर्वाचित हुँदा निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर खत्रीले ११ हजार ९०६ मत ल्याएका थिए। उक्त निर्वाचनमा एमाले चौथो भयो।
२०५६ को आमनिर्वाचनमा भक्तपुर–२ मा नेपाली कांग्रेस निर्वाचित भयो।
कांग्रेसका लेखनाथ न्यौपाने १४ हजार २०० मतका साथ सांसद निर्वाचित भए। उनका प्रतिस्पर्धी नेमकिपाका सुनील प्रजापति थिए। उनले १३ हजार ४३२ मत प्राप्त गरेका थिए। त्यति बेला एमाले तेस्रो भएको थियो। एमालेका युवराज कार्कीले ९ हजार ७७ मत प्राप्त गरे। अघिल्लो निर्वाचनमा दोस्रो भएका गणेशबहादुर खत्री ७ हजार ८२८ मतसहित चौथो भए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जित दोहोर्याउन सकेन।
उक्त निर्वाचनमा भक्तपुर–२ बाट नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति सभासद निर्वाचित भए। प्रजापति १८ हजार १०० मतसहित सांसद निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका लेखनाथ न्यौपानेले १३ हजार २६५ मत ल्याए।
उक्त निर्वाचनमा राप्रपाबाट उम्मेदवार बन्दै आएका र उक्त पार्टीका पुराना नेतामध्येका गणेशबहादुर खत्री एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए। उनले ११ हजार ७६९ मत ल्याएर तेस्रो भएका थिए। माओवादी उम्मेदवार अर्जुनबहादुर थापा १० हजार ९६६ मतसहित चौथो भएका थिए।
२०७० मा उक्त क्षेत्रमा पुनः नेपाली कांग्रेस विजयी भयो। कांग्रेसका रामेश्वर ढुंगेल २१ हजार १२१ मतसहित निर्वाचित हुँदा निकट प्रतिस्पर्धी नेमकिपाका सुनील प्रजापतिले १७ हजार ४११ मत ल्याए। तेस्रो भएका एमालेका महेश बस्नेतले १६ हजार २९ मत ल्याए।
बस्नेत त्यति बेला युवा संघको राजनीतिमा थिए। पार्टीमा उदीयमान छवि विस्तार गर्दै थिए। चुनाव नजिते पनि उनी उद्योगमन्त्री भए। मन्त्री भएका बेला विकास निर्माणका काममा अग्रसरता लिए।
२०७४ सालको निर्वाचनमा त्यसैको प्रभावले उनी १७ हजार ७२५ मतान्तरका साथ विजयी भए। बस्नेतले १७ हजार ७२५ मत ल्याए। त्यति बेला नेपाली कांग्रेसले पाका नेता दमननाथ ढुंगानालाई उम्मेदवार बनाएको थियो। २०४८ सालमा काठमाडौं–२ बाट निर्वाचित पूर्वसभामुख ढुंगानाले १८ हजार ६८७ मत ल्याएका थिए। नेमकिपाकी अनुराधा थापामगरले ५ हजार ४७१ मत ल्याएकी थिइन्।
उक्त निर्वाचनमा प्रदेश १ र २ दुवैतिर एमाले सांसद नै निर्वाचित भएका थिए। प्रदेश २ (१) मा शशिजंग थापा र २ (२) मा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका थिए। प्रतिस्पर्धी दुवैतिर नेपाली कांग्रेस नै थिए।
२०७९ सालको निर्वाचनमा बस्नेतले पुनः जितलाई निरन्तरता दिन सकेनन्। नेपाली कांग्रेसले सांसद जित्यो। कांग्रेसका दुर्लभ थापा क्षत्रीले २४ हजार २३९ मतसहित सांसद जित्दा प्रतिस्पर्धी बस्नेतले २३ हजार २८२ मत ल्याए। नेमकिपाकी अनुराधा थापामगरले ७ हजार १२७ मत ल्याइन्।
प्रदेश सभातर्फ २ (१) मा एमालेका किरण थापामगर निर्वाचित भए भने २ (२) मा एकीकृत समाजवादीबाट राजेन्द्रमान श्रेष्ठ निर्वाचित भए। एमाले विभाजन भएकाले उनी एकीकृत समाजवादीतिर लागेका थिए।
त्यसो त भक्तपुर–२ बाट अघिल्लो पटक जितेका दुवै सांसद एकीकृत समाजवादीतिर लागेर उम्मेदवार भएका थिए। प्रदेश २ (१) मा अघिल्लो पटक जितेका शशिजंग थापा निकट प्रतिस्पर्धी बनेका थिए।
यसरी हेर्दा भक्तपुर–२ मा अहिलेसम्म कुनै पार्टीले पनि लगातार दुई पटक जित निकाल्न सकेको छैन। आलोपालो जित्दै आएको छ। र, प्रत्येक पटक नयाँ नयाँ अनुहार परीक्षण गर्ने गरेको छ।
भक्तपुर–२ मा दुइटा स्थानीय तह छन्। १९ वटा वडा समेटिएका छन्।
सूर्यविनायक नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो। यसका १० वटा वडामध्ये ५ वटा (वडा नम्बर १, ५, ७, ८ र १०) एमालेले जितेको थियो। कांग्रेसले पनि समान ५ वटा (वडा नम्बर २, ३, ४, ६ र ९) जितेको थियो।
मध्यपुर थिमि नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले जितेको थियो। कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका थिए।
मध्यपुर थिमिका ९ मध्ये ६ वटा (वडा नम्बर १, २, ३, ५, ६ र ९) कांग्रेस, २ एमाले ( वडा नम्बर ४, ७) र १ वटा (वडा नम्बर ८) नेपाल मजदुर किसान पार्टीले जितेको छ।
स्थानीय मत परिणामअनुसार कांग्रेस तुलनात्मक बलियो देखिए पनि प्रतिनिधिसभा निर्वाचनतर्फ एमाले नै बलियो देखिन्छ। गत चुनावको समानुपातिकतर्फ त्यहाँ एमाले १७ हजार ८७६ मतसहित अग्रस्थानमा थियो भने कांग्रेस १४ हजार ८९४ मतसहित दोस्रो थियो। रास्वपा ११ हजार ८९६ मतसहित तेस्रो थियो।
प्रदेशसभातर्फ पनि १९ हजार ३८१ मतसहित एमाले पहिलो थियो। १६ हजार ३२५ मतसहित कांग्रेस दोस्रो र ९ हजार १०६ मतसहित नेमकिपा तेस्रो थियो।
यसरी मतका आधारमा विश्लेषण गर्दा एमाले र कांग्रेसबाट रास्वपातर्फ केही मत गएको देखिन्छ।
यसपटक एमालेले सचिव महेश बस्नेतलाई उम्मेदवार बनाएको छ। जेनजी आन्दोलनपछि पार्टीलाई पुनरागमन गर्न भूमिका खेलेको र विगतमा जनप्रतिनिधि हुँदा गरेको कामलाई उनले आफ्नो जितको बलियो आधार ठानेका छन्। २०५४ सालको गुण्डुको गाउँ विकास समितिको अध्यक्षसमेत बनेका बस्नेतको दक्षिण भक्तपुरमा बढी प्रभाव छ।
कांग्रेसले कविर राणालाई उम्मेदवार बनाएको छ। पत्रकारिता पृष्ठभूमिका राणा पार्टीमा महाधिवेशन प्रतिनिधि हुन्। भक्तपुर जिल्ला कार्यसमिति सदस्य र उनी देशान्तर साप्ताहिकका प्रधानसम्पादक समेत हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले योङ कम्युनिस्ट लिग (वाइसिएल) का पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई उम्मेदवार बनाएको छ। हाल पार्टी केन्द्रीय सदस्यसमेत रहेका सापकोटा सिन्धुपाल्चोकका हुन्। उनी मध्यपुर थिमि नगरपालिका बस्दै आएका छन्। द्वन्द्वकालदेखि नै माओवादीमा सक्रिय सापकोटा पार्टीले अगुवाइ गरेको परिवर्तनको मुद्दा र पछिल्लो समय सुदृढ बन्दै गएको संगठनको प्रभावले निर्वाचन जित्नेमा आशावादी देखिन्छन्। यद्यपि भक्तपुरका लागि भने उनी नवीन अनुहार हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारकर्मी पृष्ठभूमिका राजीव खत्रीलाई उम्मेदवार बनाएको छ। उनी न्युज ट्वान्टी-फोर टेलिभिजनमा कार्यक्रममा प्रस्तुति दिँदै आएका थिए। निर्वाचनको केही समयअघि मात्र उनी रास्वपा प्रवेश गरेका हुन्।
सामाजिक सञ्जालमा रास्वपा र सभापति रवि लामिछानेको पक्षमा विचार अभिव्यक्त गर्दै आएका खत्री पुराना पार्टीप्रति अलि कठोर सुनिन्छन्। भक्तपुरका लागि भने उनी पनि नयाँ अनुहार हुन्।
भक्तपुर–२ मा राप्रपाले विक्रम थापालाई उम्मेदवार बनाएको छ। उनी ३७ वर्षका युवा अनुहार पनि हुन्। नेमकिपाले पनि ४० वर्षमुनिकै रमेश वैद्यलाई उम्मेदवार बनाएको छ।
उज्यालो नेपाल पार्टीले पार्टी प्रवक्ता जितराम लामालाई उम्मेदवार बनाएको छ। काभ्रेपलाञ्चोक स्थायी घर भएका उनी हाल भक्तपुर नै बसोबास गर्दै आएका छन्। अध्यक्ष कुलमान घिसिङको फैलँदो प्रभाव र घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा गरेको कामलाई नै पार्टीले पुँजी बनाइरहेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जन्मदेव जैसीलाई उम्मेदवार बनाएको छ। जैसी पनि पूर्वपत्रकार हुन्। पत्रकारको हकहित, अधिकारको रक्षाका लागि पैरवी गर्दै आएका छन्।
***
यी पनि पढ्नुहोस्: